वाशिंगटन, मे ५ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आल्काट्राज जेललाई पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले देशमा बढ्दो अपराध नियन्त्रण गर्न यो कदम चालेको जनाएका हुन्।
“अमेरिका लामो समयदेखि हिंस्रक, दुष्ट र पटके अपराधीहरूको चपेटामा परेको छ,” ट्रम्पले लेखेका छन्, “आल्काट्राजको पुनः सञ्चालन कानुन, व्यवस्था र न्यायको बलियो सन्देश हुनेछ।”
उनले न्याय मन्त्रालय, ब्यू रो अफ प्रिजन, एफबीआई र होमल्यान्ड सेक्युरिटीलाई आल्काट्राजलाई पुनः निर्माण गरी विस्तारित रूपमै सञ्चालनमा ल्याउन निर्देशन दिएको दाबी गरेका छन्। उनका अनुसार पुनः खोलिने जेलमा अमेरिका कै खतरनाक अपराधीहरू राखिने छन्।
विदेशमा अपराधी पठाउने ट्रम्पको नीति
यो कदम ट्रम्पको तीव्र अपराध नियन्त्रण रणनीतिक निरन्तरता हो। यसअघि उनले भेनेजुएलाली गिरोहका २०० भन्दा बढी सदस्यहरूलाई एल साल्भाडोरको कडाभन्दा कडा जेलमा पठाएका थिए। यही नीति अन्तर्गत देशभित्रका आपराधिक गिरोहका सदस्यहरूलाई पनि विदेशी जेलमा पठाउने चर्चा उनले गर्दै आएका छन्। अदालतहरूसँग यस नीतिमा उनको निरन्तर टकराव पनि देखिएको छ।
के हो आल्काट्राज जेल?
क्यालिफोर्नियाको स्यान फ्रान्सिस्को खाडीस्थित गोल्डन गेट ब्रिज नजिकै रहेको आल्काट्राज जेल अमेरिका कै सबैभन्दा कडाई गरिएको जेलमध्ये एक मानिन्थ्यो। सुरुवाती समय नौसैनिक किल्लाका रूपमा प्रयोगमा रहेको टापुलाई बीसौँ शताब्दीको प्रारम्भमा पुनर्निर्माण गरी सैन्य कारागार बनाइएको थियो।
सन् १९३० को दशकमा यसलाई संघीय सरकारको अधिनमा ल्याइयो र त्यसयता ‘उच्च सुरक्षायुक्त जेल’को रूपमा कुख्यात बन्यो। यहाँ राखिएका बन्दीहरूमध्ये कुख्यात ग्याङ्गस्टर अल क्यापोन, मिकी कोहेन र जोर्ज ‘मेसिन गन’ केलीजस्ता अपराधीहरू उल्लेखनीय छन्।
तर सन् १९६३ मा यो जेल सञ्चालन खर्च अत्यधिक भएका कारण बन्द गरिएको थियो। संघीय जेल ब्यूरोका अनुसार टापुमा अवस्थित भएकाले आल्काट्राजको सञ्चालन खर्च अन्य जेलको तुलनामा झन्डै तीन गुणा बढी थियो।
चलचित्र र चर्चित कथा
आल्काट्राजले समय–समयमा फिल्म र साहित्यमा समेत चर्चा पाउँदै आएको छ। सन् १९६२ मा निर्माण गरिएको ‘बर्डम्यान अफ आल्काट्राज’ चलचित्र, जसमा हत्यामा दोषी रोबर्ट स्ट्रडको जीवन चित्रण गरिएको छ, निकै लोकप्रिय बन्यो। स्ट्रडले जेलभित्रै चराको अध्ययन गरी ‘चरा विज्ञ’का रूपमा पहिचान बनाएका थिए।
त्यस्तै, सन् १९९६ मा निकोलस केज र सन कनरी अभिनीत ‘द रक’ चलचित्र पनि यहीँ छायांकन गरिएको हो। उक्त चलचित्रमा आल्काट्राज टापुमा हुने एक संकट र त्यसको उद्धारको कथा देखाइएको छ।
ट्रम्पको निर्णयको असर
उनको यो निर्णयले अमेरिकी राजनीतिक वृत्तमा बहस निम्त्याएको छ। यसले संघीय अपराध नियन्त्रण नीति र जेल प्रशासनमा दीर्घकालीन प्रभाव पार्न सक्छ।
पुनः सञ्चालनको सम्भावना जताइए पनि आल्काट्राजको सञ्चालन खर्च र वर्तमान पर्यटकीय अवस्थाले यो निर्णय कार्यान्वयनमा आउँदा अनेक व्यवहारिक चुनौतीहरू सामना गर्नु पर्नेछ।श्रोत बिबिसीबाट
