
वीरगञ्ज, । पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले हतियार तथा विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार नियमित सुरक्षा जाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जना शंकास्पद अवस्थामा भेटिएपछि सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) प्रसौनीभाठाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार व्यक्तिहरूको झोला जाँच गर्दा कपडाभित्र लुकाएर राखिएको एक थान डोमी पेस्तोल र त्यसमा लाग्ने ६ राउन्ड गोली बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट तीन थान छुरा, नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, दुई थान भिभो मोबाइल फोन तथा विभिन्न प्रकारका औषधिसमेत फेला परेको छ ।
सशस्त्र प्रहरीले पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।