
वीरगञ्ज, १७ कात्तिक । पर्सा प्रहरीले भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका दुईवटा निजी चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा कारबाही गर्दै वीरगञ्ज महानगरपालिका–१६, इनर्वागाउँस्थित सडकबाट भारतीय बोलेरो र मारुती सुजुकी कार बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत कात्तिक १६ गते दिउँसो करिब २ः३० बजे खटिएको प्रहरी टोलीले ती सवारीसाधन बेवारिसे अवस्थामा फेला पारेको थियो ।
लामो समयदेखि भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका सवारीसाधन पर्साका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा अवैध रूपमा प्रयोग भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा खोजतलास तीव्र पारेको जनाएको छ ।
बरामद गरिएका सवारीसाधनमाथि स्वामित्व दाबी गर्न सम्बन्धित व्यक्तिको खोजी गरिए पनि कोही सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधनको कुल मूल्य २२ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन कात्तिक १७ गते दुवै सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
भन्सार छली गरी सवारीसाधन नेपाल भित्र्याउने र अवैध रूपमा सञ्चालन गर्ने गतिविधि नियन्त्रण गर्न निगरानी थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।