
वीरगञ्ज, १७ कात्तिक । पर्सा प्रहरीले चाँदीजस्तो देखिने धातुबाट निर्मित विभिन्न सामग्रीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कात्तिक १७ गते बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले BR05BK 4417 नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त सामग्री फेला पारेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१६, नगवा निवासी ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेका चम्चा चार थान, सिक्री एक थान, प्लेट एक थान, गणेश–लक्ष्मीका मूर्ति दुई थान, माछाका आकृति पाँच थान, हरिणका आकृति तीन थान, कछुवाका आकृति चार थान र गोरुको मूर्ति एक थान बरामद गरिएको छ ।
बरामद गरिएका सम्पूर्ण सामग्रीको तौल ३२३ ग्राम १३० मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका दुवै जना तथा बरामद सामग्रीलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाबारे जानकारी दिनुभएको हो ।