
बागलुङ । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
बागलुङ बजारमा जुवातास खेल भइरहेको गोप्य सूचना पाएपछि प्रहरी टोलीले खड्काको घरमा छापा मारेको थियो । प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको नेतृत्वमा खटिएको टोलीले खड्कासहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गाबहादुर खत्री, ३५ वर्षीय हरि शर्मा र ६६ वर्षीय भीमबहादुर खत्री रहेका छन् ।
त्यसैगरी सोही नगरपालिका–२ का ६६ वर्षीय डम्बरबहादुर भण्डारी, वडा नम्बर १ का ५५ वर्षीय राजु गौतम र वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही व्यक्ति राजनीतिक, कानुनी तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खड्का यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए । प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका उनी बागलुङ नगरपालिकाका पार्टी वडा सभापति रहेको जनाइएको छ ।