दाङ । दाङको लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुबेर एक बालिकाको ज्यान गएको छ । परिवारसँग वनभोज खान पुगेकी बालिका माछालाई दाना खुवाउने क्रममा तालमा खसेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–२, कोठरी निवासी ६ वर्षीया कृतिका चौधरीको डुबेर मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँगै जखेरा ताल पुगेकी कृतिका तालको किनारमा बसेर माछालाई दाना खुवाइरहेका बेला चिप्लिएर पानीमा खसेकी थिइन् ।
तालमा खसेलगत्तै बालिकाको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालिकाको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।