
काठमाडौं, १५ कात्तिक । जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न शक्तिशाली र स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न माग गरेका छन् ।
आइतबार जेनजी मुभमेन्ट नेपालको तर्फबाट जारी प्रेस वक्तव्यमा हमालले न्यायालयदेखि कार्यपालिकासम्मका सम्भावित सम्बन्ध, आर्थिक कारोबार, अनुचित प्रभाव र शक्ति दुरुपयोगका विषयमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएका छन् ।
उनले प्रकरणसँग सम्बन्धित विवरण र अनुसन्धानका विषय एकपक्षीय रूपमा सार्वजनिक भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उक्त प्रकरणलाई कुनै एक व्यक्ति वा संस्थामा मात्र सीमित नगरी अनुसन्धानको दायरा व्यापक बनाउनुपर्ने उनको भनाइ छ ।

न्यायालयका व्यक्तिहरूमाथि प्रश्न उठिरहेका बेला सांसद, मन्त्री, प्रधानमन्त्री कार्यालयका पदाधिकारी तथा कार्यपालिकासँग सम्बन्धित व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने हमालले बताएका छन् । पद, पहुँच र राजनीतिक शक्तिका आधारमा छानबिनको सीमा निर्धारण गर्न नहुने उनले उल्लेख गरेका छन् ।
हमालले उच्च नैतिक चरित्र भएका निष्पक्ष व्यक्तिहरू सम्मिलित आयोग गठन गरी त्यसलाई पर्याप्त कानुनी अधिकार र संस्थागत स्वायत्तता दिनुपर्ने माग गरेका छन् । आयोगलाई आवश्यक कागजात तथा अभिलेख झिकाउने, सम्बन्धित व्यक्तिलाई उपस्थित गराउने, प्रमाण संकलन गर्ने र कानुनी प्रक्रियाअनुसार कारबाहीका लागि सिफारिस गर्ने अधिकार हुनुपर्ने उनको भनाइ छ ।
आयोग राजनीतिक तथा प्रशासनिक दबाबबाट मुक्त रहनुपर्नेमा जोड दिँदै उनले जेनजी आन्दोलनको उद्देश्य राज्यका संस्थाहरूमा शुद्धीकरण र जवाफदेहिता कायम गर्नु रहेको बताएका छन् ।
वक्तव्यमा हमालले आरोपित सबैलाई निष्पक्ष सुनुवाइको अवसर दिनुपर्ने र प्रमाणका आधारमा दोषी ठहर हुने जोकोहीलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।
सरकार वा राजनीतिक नेतृत्व परिवर्तन मात्रै वास्तविक परिवर्तन नभएको उल्लेख गर्दै उनले राज्य सञ्चालनको संस्कार र जवाफदेहितामा संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।