
रौतहट, १४ कात्तिक । कुलेखानी जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना जारी गर्दै जलाशयको पानीको सतह थप बढेमा बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ। यस्तो अवस्थामा सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो।
नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रबाट प्राप्त विवरणअनुसार शनिबार दिउँसो १२ बजे जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको थियो।
पानीको बहाव र जलाशयमा बढिरहेको जलसतहको आधारमा शनिबार साँझ करिब ४ बजेसम्म पानीको सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको प्रशासनले जनाएको छ।
१ हजार ५२८.५० मिटर पुगेपछि साइरन बजाइने
प्रशासनका अनुसार जलाशयको जलसतह १ हजार ५२८.५० मिटर पुगेपछि पूर्वसतर्कताका लागि साइरन बजाउने तथा एसएमएसमार्फत सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ।
जलाधार क्षेत्रमा थप वर्षा भई जलसतह बढ्दै गएमा बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सम्भावना रहेको सूचनामा उल्लेख छ। त्यसो भएमा सिस्नेरी खोला र बागमती नदीमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम छ।
नदी किनारका बासिन्दालाई तीन बुँदे आग्रह
सम्भावित बाढीबाट मानवीय तथा भौतिक क्षति हुन नदिन प्रशासनले तटीय क्षेत्रका नागरिकलाई तीनवटा विषयमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
१. नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।
२. सिस्नेरी खोला र बागमती नदी किनार तथा आसपासका सडकमा रातिको समयमा यात्रा नगर्न भनिएको छ।
३. नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउनेलगायतका काम नगर्न तथा नदीको बहाव क्षेत्र नजिक नजान अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालले जारी गरेको सूचनामार्फत सम्भावित जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको हो।
प्रशासनले कुलेखानी जलाशयको जलसतह र सम्भावित बहावलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई पूर्वसावधानी अपनाउन अपिल गरेको छ।