
हेटौंडा । अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले काठमाडौं जोड्ने एक प्रमुख सडकखण्डमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना जारी गर्दै भैंसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं पुग्ने सडकमा शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको हो।
बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावका कारण कात्तिक १२ गतेदेखि देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। लगातारको वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउनुका साथै कुलेखानी जलाशयको पानीको सतहसमेत तीव्र रूपमा उकालो लागेपछि सडक बन्द गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन्।
कुलेखानी जलाशयको जलसतह बढ्दो
नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार शनिबार दिउँसो १२ बजे जलाशयको पानीको सतह १ हजार ५२८.१५ मिटर पुगेको थियो।
जलसतह बढ्ने क्रम र पानीको बहावलाई आधार मान्दा शनिबार साँझ ४ बजेसम्म जलाशयको सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताएका छन्।
जलाधार क्षेत्रमा थप वर्षा भए जलाशयको सुरक्षा र पानीको सतह व्यवस्थापन गर्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने केन्द्रले जनाएको छ।
बाँधका ढोका खोलिए बागमतीमा बाढीको जोखिम
कुलेखानी जलाशयका मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ।
रातिको समयमा सम्भावित बाढी तथा पहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सडकमा सवारी आवागमन बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिमा उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, काठमाडौं जाने वा मकवानपुर हुँदै यात्रा गर्ने यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सडकको अवस्था र प्रशासनबाट जारी सूचनाबारे जानकारी लिन अनुरोध गरिएको छ।
प्रतिकूल मौसम र जलाशयको बढ्दो जलसतहलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत प्रशासनले सचेत गराएको छ।