
काठमाडौं । नेपाली कांग्रेसभित्र समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेको शेरबहादुर देउवा पक्षले उनको गृहजिल्ला डडेल्धुरामा १५औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन आयोजना गरेको छ।
शनिबार हुने क्षेत्रीय तथा आठौँ जिल्ला अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू पनि छनोट गरिनेछ।
कांग्रेस डडेल्धुराका तत्कालीन सभापति भीमबहादुर साउद विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले अघि बढाएको अधिवेशन प्रक्रियामा सहभागी भएपछि देउवा पक्षले जिल्ला अधिवेशनको समन्वयका लागि उपसभापति डिल्लीराज जोशीलाई जिम्मेवारी दिएको थियो।
अधिवेशनबाट जोशी जिल्ला सभापतिमा चयन हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। यद्यपि, नयाँ नेतृत्वको अन्तिम टुंगो अधिवेशनबाटै लाग्नेछ।
अधिवेशनको सुरुवातअघि देउवा पक्षले डडेल्धुरा बसपार्कबाट निर्माण व्यवसायी संघको सभाहलसम्म बाजागाजासहित र्याली निकालेको थियो।
विभिन्न जिल्लामा अधिवेशन सम्पन्न
देउवा पक्षले यसअघि संखुवासभा, डोल्पा, हुम्ला, जुम्ला, मुगु, रुकुम पश्चिम, कालिकोट, डोटी, बैतडी, रोल्पा र दैलेखमा जिल्ला नेतृत्व चयन गरिसकेको जनाएको छ।
यस समूहले गत १५ असोजदेखि वडा तहको अधिवेशन सुरु गरेको थियो। त्यसपछि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार १५ कात्तिकमा जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने योजना अघि बढाइएको छ।
कांग्रेसभित्र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र देउवा पक्षबीच संगठनात्मक गतिविधि तथा अधिवेशन प्रक्रियालाई लिएर मतभेद कायम रहँदा दुवै पक्षले आ–आफ्नो ढंगले संगठन विस्तार र नेतृत्व चयनका गतिविधि सञ्चालन गरिरहेका छन्।