डोल्पा । डोल्पा जिल्ला कारागारबाट ८ जना कैदी तथा थुनुवा फरार भएका छन् । कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
शनिबार बिहान कैदीबन्दीको नियमित गणना गर्ने क्रममा ८ जना अनुपस्थित भेटिएपछि घटना बाहिर आएको हो ।
प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान करिब ६ बजे गणना गर्दा उनीहरू कारागारमा नभेटिएपछि फरार भएको पुष्टि भएको हो ।
प्रहरीका अनुसार कैदीबन्दी राखिएको भवनको भुइँतर्फबाट करिब ९ देखि १० फिट लामो सुरुङ खनेर उनीहरू बाहिरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनाबारे थप विवरण संकलन गर्न कारागारको सीसीटीभी फुटेज परीक्षण भइरहेको छ । फरार कैदी तथा थुनुवाको खोजी र घटनाको अनुसन्धान अघि बढाइएको जनाइएको छ ।