
काठमाडौं । नेपाली कांग्रेसले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी परिचालन गर्ने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
कांग्रेसका अनुसार पत्रकारमाथि गैरकानुनी रूपमा पक्राउ तथा अनावश्यक धरपकड गर्ने गतिविधि तत्काल रोकिनुपर्छ। जनदबाबपछि पत्रकार रिहा गर्नुभन्दा कानुनी प्रक्रिया मिचेर गरिने पक्राउ र दुःख दिने कार्य नै अन्त्य गर्नुपर्ने पार्टीको माग छ।
विज्ञप्तिमा कांग्रेसले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको जनाएको छ। विगतमा पनि सत्तामाथि प्रश्न उठ्दा सञ्चार क्षेत्रमाथि हस्तक्षेप हुने गरेको उल्लेख गर्दै पार्टीले यस्ता गतिविधि पुनः देखिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएको छ।
कांग्रेसले आफू स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनी शासनको पक्षमा उभिँदै आएको उल्लेख गरेको छ। पार्टीले निरंकुश तथा स्वेच्छाचारी कदमको विरोध गर्ने प्रतिबद्धतासमेत दोहोर्याएको छ।
कुनै सञ्चारमाध्यम वा पत्रकारबाट गल्ती भएको अवस्थामा त्यसको निरुपण प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमार्फत स्थापित कानुनी प्रक्रियाअनुसार हुनुपर्ने कांग्रेसको धारणा छ। ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा प्रहरी परिचालन गर्नु कानुनी शासनको मान्यताविपरीत हुने पार्टीले जनाएको छ।
कांग्रेसले यस्तो कार्यशैलीले कानुनको शासनभन्दा कानुनलाई शक्ति प्रयोगको माध्यम बनाउने प्रवृत्तिलाई बढावा दिन सक्ने भन्दै घटनाको भर्त्सना गरेको छ।
सभापति थापाले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिरबाट चालिएका कदम सच्याउन सरकारसँग माग गरेका छन्।
पत्रकारले स्वतन्त्र र निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको कांग्रेसको भनाइ छ।