बारा, १३ कात्तिक । बारामा प्रहरीले ४ दशमलव ५१ ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–५ का २२ वर्षीय विशाल सहनी र २६ वर्षीय रोशन कुशवाहा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई विश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट पक्राउ गरेको हो।
भारतबाट नेपाल प्रवेश गर्दै गरेको ना.१२ प ३७१६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा अगाडिको भाइजरभित्र लुकाएर राखिएको प्लास्टिकको पुडियामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधको तौल ४ दशमलव ५१ ग्राम रहेको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय प्रसौनीमा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूमाथि थप अनुसन्धान अघि बढाउन बारा जिल्ला अदालतबाट सात दिनको म्यादसमेत लिइएको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिएका छन्।