प्रधानमन्त्रीको निर्देशनपछि रिहा

काठमाडौं । समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत नियन्त्रणमा रहेका सबै पत्रकारलाई मुक्त गरिएको जानकारी दिएका हुन्।
उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिता लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधार भएको बताएका छन्।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए अनलाइनका प्रधानसम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो।
समाचार प्रकाशनसँग सम्बन्धित विषयलाई लिएर पत्रकारहरू पक्राउ परेपछि पत्रकार महासंघ, विभिन्न सञ्चारमाध्यम, राजनीतिक दल तथा नागरिकस्तरबाट सरकारको कदमको व्यापक आलोचना भएको थियो।
घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन शाहले नियन्त्रणमा रहेका सबै पत्रकारलाई रिहा गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि उनीहरूलाई रिहा गरिएको हो।
यस घटनाले सञ्चारमाध्यमको स्वतन्त्रता र समाचार कक्षको सुरक्षासम्बन्धी विषयलाई पुनः बहसमा ल्याएको छ।