
काठमाडौं । समाचारको स्रोत खोज्ने बहानामा प्रहरी समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई पक्राउ गर्न थालेको भन्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले समाचारको स्रोत पहिचान गर्ने नाममा प्रहरी समाचार कक्षमा पुगेर पत्रकार पक्राउ गर्ने अवस्था सिर्जना भए संविधान र प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठ्ने बताएका छन्।
गाउँलेका अनुसार अहिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि मात्रै नभई संविधानको रक्षाका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था आएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समाचारको स्रोतका विषयमा अनुसन्धान गर्ने क्रममा समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने गतिविधि भए संविधानको अस्तित्वमाथि नै संकट उत्पन्न हुने टिप्पणी गरेका छन्।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै गर्दा अहिले संविधानको संरक्षणलाई समेत प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको बताएका छन्।