काठमाडौं, ११ कात्तिक । कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित दर्ता गरेको छ। पोखरा एभेन्जर्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो।
साविक उपविजेता सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रले ३६ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए। उनलाई इशान पाण्डेले राम्रो साथ दिए। यी दुईले चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गरे। पाण्डे ३१ बलमा ३७ रन बनाएर आउट भए भने शेर्फन रदरफोर्ड आठ रनमा अविजित रहे।
सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा सुरुमै विनोद भण्डारीलाई चार रनमा गुमाएको थियो। त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रन जोडे। जैब १४ तथा म्याकमुलेन २२ रन बनाएर पभेलियन फर्किएपछि दीपेन्द्र र पाण्डेले टोलीको इनिङ्स सम्हाले।
पोखराका बलर धनञ्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए।
पोखराले बनाएको थियो १४५ रन
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो। टोलीका लागि अर्जुन घर्तीमगरले सर्वाधिक ४० रनको अविजित इनिङ्स खेले। उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे। अर्जुनले अन्तिम ओभरमा १५ रन जोड्दै टोलीको स्कोर उकासे।
महेदी हसनले ३२ रन बनाए। उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। महेदीलाई छैटौँ ओभरको पाँचौँ बलमा अनिल खरेलले आउट गरे।
ओपनर दिनेश खरेल सात बलमा चार रन बनाएर तेस्रो ओभरमै आउट भए। कुशल भुर्तेलले १७ बलमा दुई चौकासहित २१ रन जोडे। उनी दशौँ ओभरको पहिलो बलमा कप्तान दीपेन्द्रको बलमा क्याच आउट भए।
पोखराका अन्य ब्याटरमध्ये शाकिब अल हसनले १४, धनञ्जय लक्षनले ११, सदिरा समरविक्रमाले आठ र किरण ठगुन्नाले एक रन बनाए। विपिन खत्री पाँच रनमा अविजित रहे।
अनिल खरेलको उत्कृष्ट बलिङ
सुदूरपश्चिमका स्पिनर अनिल खरेलले तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए। उनले महेदी हसन, शाकिब अल हसन र सदिरा समरविक्रमालाई आउट गरे। हेमन्त धामी, स्कट कुगेलाइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
बिहीबार एनपीएलका दुई खेल
एनपीएलअन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज दिउँसो १२ः३० बजे आमनेसामने हुनेछन्। दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।