काठमाडौं, २७ असोज। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यस जितसँगै नेपालले जारी शृङ्खलामा लगातार दोस्रो सफलता हात पारेको छ। यसअघि नेपालले क्यानडालाई २४ रनले हराएको थियो।
ओमानको अल अमेरतस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनाएको थियो। नेपालका लागि पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६७ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरे।
त्यस्तै, करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार छक्का र एक चौकाको मद्दतले ४० रन बनाए। अर्जुन कुमालले पनि ४० रन जोडे भने ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २२ र सन्दीप जोराले १० रनको योगदान दिए। ओमानका साह फैसल, शाकिल अहमद र करण सोनावाले दुई-दुई विकेट लिए।
२६४ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरसामु टिक्न सकेन। टोली ४० ओभरमा १५० रनमै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले ८३ बलमा ७७ रन बनाए। उनको इनिङ्समा छ चौका र एक छक्का समावेश थियो। जय ओडेराले २५ तथा जतिन्दर सिंहले १८ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अङ्कको स्कोर बनाउन सकेनन्।
नेपालको जितमा कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पार्दा करण केसी र ललित राजवंशीले एक-एक विकेट लिए।
जारी लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले अब शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।