भक्तपुर । डिजिटल वालेट खल्तीका कर्मचारी भएको परिचय दिएर सर्वसाधारणको बैंक तथा वालेट खाताबाट रकम निकाल्ने गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको साइबर शाखाले विद्युतीय माध्यमबाट ठगी गरेको आरोपमा शुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र रिशी गंगालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न मोबाइल नम्बर र ह्वाट्सएपमार्फत सम्पर्क गरी आफूहरू खल्तीका कर्मचारी भएको बताउने गरेका थिए। उनीहरूले वालेटको केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने, बैंक खाता वालेटमा जोडिदिने तथा व्यावसायिक प्रयोजनका लागि रकम प्राप्त हुँदा सूचना दिने उपकरण उपलब्ध गराइदिने जस्ता बहाना बनाएर सर्वसाधारणलाई विश्वासमा लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विश्वासमा परेका व्यक्तिलाई भिडियो कल वा अन्य माध्यमबाट मोबाइलको स्क्रिन सेयर गर्न लगाई वालेट तथा मोबाइल बैंकिङको ओटीपी कोड प्राप्त गर्ने र त्यसको प्रयोगबाट खातामा अनधिकृत पहुँच बनाई रकम अन्यत्र पठाउने गरेको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा प्रहरीले ठगीमा प्रयोग भएको आशंकामा विभिन्न मोबाइल फोन र सिमकार्ड बरामद गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं सूचना अधिकारी डीएसपी दीपककुमार कार्कीले घटनासँग सम्बन्धित आठवटा मोबाइल तथा ह्वाट्सएप नम्बरसमेत सार्वजनिक गरेका छन्।
प्रहरीले अपरिचित व्यक्तिले खल्तीको कर्मचारी भन्दै फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गरी केवाईसी अद्यावधिक, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर गर्न आग्रह गरेमा सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।
यस्ता माध्यमबाट ठगीमा परेको भए आर्थिक क्षतिको विवरणसहित जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित भएर जाहेरी दिन पनि प्रहरीले आग्रह गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।