झापा । चाडपर्वको समयमा भारतबाट लुकिछिपी नेपाल भित्र्याउन खोजिएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका झापामा बरामद गरी नष्ट गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा र मातहतका इकाइले सीमा क्षेत्र तथा विभिन्न चेकपोइन्टमा गरेको निगरानी र जाँचका क्रममा ३ लाख १६ हजार ५९० रुपैयाँ बराबरका पटका फेला पारेका हुन्।
बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको उपस्थितिमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पटका ढुवानीमा प्रयोग भएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका सूचना अधिकारी तथा डीएसपी सुजित विष्टका अनुसार चाडपर्वका बेला हुन सक्ने अवैध आयात र अन्य गैरकानुनी गतिविधि रोक्न सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ।
उनका अनुसार सीमा नाका तथा चेकपोइन्टमा गस्ती, सवारीसाधनको जाँच र निगरानीलाई थप प्रभावकारी बनाइएको छ।