काठमाडौं । काठमाडौंको थानकोटबाट प्रहरीले बरामद गरेको अवैध चाँदीको तौल ६९ किलो पुगेको छ । प्रारम्भिक अनुमानमा करिब ६० किलो रहेको चाँदीको परिमाण आवश्यक प्रक्रिया पूरा गरी तौल गर्दा यकिन भएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार भन्सार छली गरेर ल्याइएको चाँदीसहित भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको थियो । बरामद चाँदीको बजार मूल्य २ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
बिहारको रक्सौल घर भएका सर्राफले थानकोटमा अमन सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनले मोटरसाइकलमा लुकाउने संरचना (फल्स बटम) तयार गरी चाँदीको अवैध ओसारपसार गर्ने गरेको खुलेको छ ।
यस घटनामा सर्राफका परिवारका सदस्य पनि पक्राउ परेका छन् । उनका बुवा रमेश कुमार साह र आमा चन्दा सोनीलाई आइतबार मकवानपुर प्रहरीले हेटौँडाबाट १४ किलो चाँदीसहित नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले अमनलाई पक्राउ गरेको हो ।
सर्राफको पसल तथा डेरामा गरिएको खानतलासीका क्रममा भन्सार छलेर ल्याइएको चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
बरामद चाँदी र पक्राउ परेका सर्राफलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको एसएसपी खड्काले बताएका छन् ।