धनकुटा । सप्तकोसी नदीमा यात्रु बोकेको मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणी क्षेत्रमा ओबीएम कम्पनीको मोटरबोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक विवरण छ। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु लिएर सुनसरीको चतरातर्फ जाँदै गर्दा दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएपछि सुनसरीस्थित प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको टोलीले चालकसहित १२ जनालाई जीवितै उद्धार गरी उपचारका लागि चतरा अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई रहेकी छन्। अन्य दुई मृतकमा करिब ६–७ वर्षकी बालिका र ४०–५० वर्ष उमेरका पुरुष रहेका छन्। उनीहरूको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।
मोटरबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी २४ वर्षीय सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाबाट जोगिएका विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा, प्रज्वल तिरुवा, देवेन्द्र राई, रञ्जित राई र निता मगर घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ।
बेपत्ता तीन जनाको खोजी जारी
दुर्घटनापछि नदीमा बेपत्ता भएका तीन जनाको खोजी भइरहेको छ। बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर तथा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई रहेका छन्।
बेपत्ताको खोजी तथा उद्धारका लागि सुनसरी र धनकुटाका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको छ।