
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताका समस्या र गुनासा बुझ्दै समाधानका लागि पहल गर्ने उद्देश्यले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले अभियानको शुभारम्भ गरेका हुन्।
अभियानअन्तर्गत पार्टीका नेता तथा कार्यकर्ता गाउँ, वडा र टोलमा पुगेर किसान, मजदुर, युवा, महिला, विद्यार्थी, व्यवसायी तथा विभिन्न समुदायका नागरिकसँग छलफल गर्नेछन्।
महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी, सार्वजनिक सेवा प्रवाहमा हुने ढिलाइ, सुकुमबासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका चुनौतीबारे नागरिकका गुनासा संकलन गरिने पार्टीले जनाएको छ।
संयोजक प्रचण्डले जनताबाट प्राप्त सुझाव तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गरिने बताएका छन्। अभियानमा संकलित गुनासाको अभिलेख राख्ने र समाधानका प्रयासबारे नागरिकलाई जानकारी दिने योजना पनि पार्टीको छ।
प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता परिचालन हुनेछन्। अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका नेताहरू आफू उम्मेदवार बनेको क्षेत्रमा खटिनेछन्।
नेकपाले मंसिर २५ गते अभियान समापन गर्ने जनाएको छ।