काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ९८२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसेमा कारबाहीमा परेका चालकहरूमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक हुन्। लापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।
मादक पदार्थ वा लागू पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत भएकाले सम्बन्धित चालकलाई ट्राफिक कानुनअनुसार कारबाही गरिएको प्रहरीले जनाएको छ।
चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र चालकको लापरबाहीले दुर्घटनाको जोखिम निम्त्याउन सक्ने भएकाले ट्राफिक प्रहरीले मापसे तथा लापसे नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ। प्रहरीले चालकलाई जिम्मेवार भएर सवारी चलाउन आग्रहसमेत गरेको छ।