बेइजिङ, ६ कात्तिक। चीनको तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ। भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ भने अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन्।
चीनको सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेका दृश्यमा भूकम्पको धक्कापछि रेस्टुरेन्टमा रहेका मानिसहरू बाहिर निस्किएको र सुपरमार्केटमा सामानहरू दराजबाट खसेको देखिएको छ। उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन्।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्र बाकेन काउन्टीको मारु बस्तीमा परेको थियो। बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको धक्का कार्यालयमा स्पष्ट रूपमा महसुस भएको र भवनका पर्खालमा चिरा परेको बताएका छन्। भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको छ।
प्रभावित क्षेत्रमा चीनले तेस्रो तहको भूकम्पीय विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारेको छ। उद्धार कार्यका लागि ३०० भन्दा बढी प्रहरी अधिकारी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जना कर्मचारी परिचालन गरिएको सिन्ह्वाले जनाएको छ। क्षतिग्रस्त भवनमा खोजी जारी रहँदा थप उद्धारका लागि सैनिक परिचालन गर्ने तयारीसमेत गरिएको छ।
चीनमा भूकम्प जाने घटना तुलनात्मक रूपमा सामान्य मानिन्छ। यसअघि सन् २०२५ जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २०२३ डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाले ज्यान गुमाएका थिए।
यसअघि सन् २०१४ मा दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढीको मृत्यु भएको थियो। सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा भने करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए। तीमध्ये करिब पाँच हजार विद्यार्थी रहेको विवरण छ।