
काठमाडौं । बङ्गालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण आगामी साताको अन्त्यतिर देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार यस अवधिमा केही स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना छ।
विभागका मौसमविद् राजन महर्जनका अनुसार साताको सुरुवात र मध्यतिर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ। साताको अन्त्यमा भने बङ्गालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले मौसममा थप परिवर्तन आउनेछ।
उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साताको अन्त्यमा धेरै स्थानमा मध्यम खालको हिमपात हुन सक्छ। ती प्रदेशका केही स्थानमा भारी र एक–दुई स्थानमा अत्यधिक हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि केही स्थानमा मध्यम तथा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
साताको सुरु र मध्यतिर भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ।
पहाडी क्षेत्रमा वर्षाको सम्भावना
साताको पहिलो र मध्य भागमा देशका सबै प्रदेशका पहाडी क्षेत्रमा छिटपुट हल्का वर्षा हुन सक्छ। साताको अन्त्यमा भने पहाडी भेगका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्नेछ भने लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताएका छन्।
तराईमा पनि साताको अन्त्यमा वर्षा हुन सक्ने
पूर्वानुमानअनुसार साताको सुरु र मध्यमा तराई क्षेत्रमा वर्षाको सम्भावना छैन। तर साताको अन्त्यतिर कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
त्यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पर्ने केही स्थानमा तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसममा आउने यस परिवर्तनसँगै आगामी सातामा देशका विभिन्न भागको अधिकतम र न्यूनतम तापक्रममा समेत सामान्य गिरावट आउन सक्ने विभागले जनाएको छ।