अन्यको दसैंपछि

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व सम्हाल्न लागेका गगनकुमार थापाले फूलपातीका दिन सभापतिको शपथ लिने भएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार दिउँसो २ बजे शपथ कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समिति सदस्य सचिव राजु कटुवालका अनुसार तत्कालका लागि सभापतिको शपथ मात्र गराउने तयारी छ। अन्य पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ दसैं सकिएपछि गरिनेछ। उनीहरूमध्ये केही दसैं मनाउन आफ्नो गृहजिल्ला पुगिसकेकाले सबैलाई एकैपटक उपस्थित गराएर कार्यक्रम गर्ने योजना रहेको उनले बताए।
यसअघि मतगणना ढिलो गरी सम्पन्न भएकाले सबै निर्वाचितको शपथ दसैंपछि गर्ने तयारी गरिएको थियो। तर, पार्टीले सभापति थापाको शपथ भने शनिबार नै गराउने निर्णय गरेको हो। यसबारे कांग्रेस केन्द्रीय कार्यालयले औपचारिक सूचना पनि सार्वजनिक गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज २३ गते भएको मतदानपछि सुरु भएको मतगणना करिब एक सातामा टुंगिएको थियो। सभापति पदको मतपरिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। बाँकी पदको मतगणना भने सानेपास्थित पार्टी कार्यालयमा गरिएको थियो।
निर्वाचन समितिका अनुसार यसपटक मतदाता संख्या बढे पनि मतगणना अघिल्लो महाधिवेशनभन्दा कम समयमा सम्पन्न भएको छ। १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मत गन्न १२ दिन लागेको थियो। यसपटक ७ हजार ३९२ मतदाताको मतगणना करिब सात दिनमै पूरा भएको कटुवालले जानकारी दिए।
मतगणना छिटो टुंग्याउन दिनरात गरी करिब २५ समूह परिचालन गरिएको थियो। मतदान र मतगणनाका क्रममा विवाद नदेखिएको तथा निर्वाचन प्रक्रिया सौहार्दपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिको भनाइ छ।