राष्ट्रिय एकता र आत्मनिर्भर नेपाल निर्माणमा जोड


काठमाडौं, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले विजयादशमीको शुभकामना दिँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।
विजयादशमी २०८३ का अवसरमा जारी सन्देशमा उनले नेपाली समाजको मौलिक संस्कृति, सनातनी परम्परा र राष्ट्रिय पहिचानको संरक्षणमा जोड दिएका छन्। दसैँले देशवासीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामनासमेत उनले गरेका छन्।
यस वर्ष विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति ध्यानाकर्षण गराउँदै पूर्वराजा शाहले वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी र सतर्कता बढाउनुका साथै प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडितको पुनर्स्थापनालाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।
पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा बाह्य सहयोग लिन सकिने भए पनि राष्ट्रिय स्वाभिमान, स्थानीय परम्परा र सांस्कृतिक विविधताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरेका छन्।
नेपालको पहिचान भूगोलमा मात्र सीमित नरहेको भन्दै उनले साझा इतिहास, आस्था, संस्कृति र परम्पराले नेपालीलाई एकताबद्ध बनाएको सन्देश दिएका छन्। कठिन परिस्थितिमा आपसी सहयोग र राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।
देशको समसामयिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्रमा देखिएका चुनौतीलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। राज्य प्रणालीलाई प्रभावकारी बनाउने, नागरिकका अपेक्षा पूरा गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने विषय अहिले महत्त्वपूर्ण रहेको उनको सन्देशमा उल्लेख छ।
राजनीतिक तथा सामाजिक अस्थिरताका बीच राष्ट्रिय एकता, स्थायित्व र मौलिक पहिचानको संरक्षण आवश्यक रहेको बताउँदै उनले विभाजनभन्दा एकता, परनिर्भरताभन्दा आत्मनिर्भरता र कमजोरीभन्दा सबलतालाई प्राथमिकता दिने सोच विकास गर्न आह्वान गरेका छन्।
समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना बलियो बनाउँदै साझा राष्ट्रिय उद्देश्यका लागि अघि बढ्नुपर्ने उनको धारणा छ।
असत्यमाथि सत्य र अशुभमाथि शुभको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले सबैलाई सत्य, न्याय र सद्मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्दै पूर्वराजा शाहले आफ्नो शुभकामना सन्देश टुंग्याएका छन्।