काठमाडौं, २८ असोज। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच द्विपक्षीय व्यापार, लगानी र औद्योगिक विकासका विषयमा छलफल भएको छ।

बुधबार मन्त्रालयमा भएको भेटमा दुवै देशबीचको सम्बन्धलाई थप बलियो बनाउँदै आर्थिक साझेदारीका नयाँ अवसर खोज्ने विषयमा कुराकानी भएको मन्त्री साहको सचिवालयले जनाएको छ।
छलफलमा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने, व्यापार प्रवर्द्धन गर्ने तथा उद्योग र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने विषय उठाइएको थियो।
त्यसैगरी, दुई देशबीचको व्यापारिक सहकार्यलाई प्रभावकारी बनाउने र आपसी हितका क्षेत्रमा संयुक्त पहल अघि बढाउने सम्भावनाबारे पनि विचार आदानप्रदान भएको सचिवालयले जानकारी दिएको छ।
भेटवार्तामा नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार तथा दुवै देशको समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने विषयमा जोड दिइएको जनाइएको छ।