अनुसन्धानका लागि प्रहरीको जिम्मा
काठमाडौं, २७ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अनियमिततामा संलग्न रहेको आशंकामा हिमालय एयरलाइन्सका कर्मचारी हंसराज जैशीमाथि अनुसन्धान गर्न विमानस्थल सुरक्षा कार्यालयलाई जिम्मा दिएको छ।
अध्यागमन कार्यालयका अनुसार गत सोमबार, २६ असोजमा वैदेशिक रोजगारीका लागि विदेश जान लागेका एक यात्रुको श्रम स्वीकृतिको म्याद सकिएको भेटिएको थियो। त्यसपछि श्रम स्वीकृति पुनः लिनुपर्ने भन्दै ती यात्रुसँग रकम लिएको आशंका गरिएको छ।
कार्यालयको प्रारम्भिक छानबिनमा जैशीको मोबाइल नम्बरमा रहेको ईसेवा खाताबाट १४ हजार रुपैयाँको कारोबार भएको विवरण फेला परेको जनाइएको छ।
त्यसैगरी, विमानस्थलमा जडान गरिएका सीसीटीभी क्यामेराको दृश्यमा यात्रुलाई सहयोग गर्ने नाममा शंकास्पद गतिविधि भएको देखिएको अध्यागमन कार्यालयले जनाएको छ।
घटनाको थप अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जैशीलाई विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको हो। घटनाबारे अनुसन्धान जारी रहेकाले आरोप पुष्टि हुन भने बाँकी छ।