बुटवल, १८ असोज । रुपन्देहीको तिलोत्तमाबाट १० वर्षीया बालिका अपहरण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय युवराज थारुलाई शनिबार राति कान्छी बजार क्षेत्रको जंगलबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार थारुलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि प्रतिरोध तथा आक्रमणको प्रयास गरेपछि एक राउन्ड गोली चलाइएको थियो। गोली लागेर खुट्टामा चोट लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति बालिका आफ्नै घरमा सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन्। राति करिब २ बजेतिर हजुरआमाले बालिकालाई हेर्न खोज्दा घरमा नभेटिएपछि परिवारले उनको खोजी सुरु गरेको थियो।
बालिका हराएको जानकारी पाएपछि प्रहरीले बिहीबारदेखि स्थानीय बस्ती तथा आसपासका जंगल क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। अनुसन्धानका क्रममा बालिका अपहरणमा संलग्न व्यक्तिसम्म पुग्न सकिने केही आधार प्रहरीलाई प्राप्त भएको थियो।
लगातारको खोजीपछि प्रहरीले शुक्रबार साँझ कान्छी बजारनजिकैको जंगलबाट अपहरणमा परेकी बालिकालाई सकुशल उद्धार गरेको थियो। प्रहरीका अनुसार बालिका अपहरण भएको करिब ३८ घण्टापछि उद्धार सम्भव भएको हो।
बालिका भेटिएको स्थानबाट प्राप्त मोबाइल फोनलाई अनुसन्धानको आधार बनाउँदै प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ। त्यसपछि थारुको खोजी तीव्र पारिएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार राति करिब १ बजे थारुलाई जंगल क्षेत्रमा फेला पारेर नियन्त्रणमा लिइएको हो।
उद्धार गरिएकी बालिकालाई हाल प्रहरीको संरक्षणमा राखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार उनको परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको छ। घटनाको अनुसन्धानसँगै अपहरणको उद्देश्य र घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएकोबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।