काठमाडौं, भदौ २१।
ऐतिहासिक जेन्जी विद्रोहका क्रममा घाइते भई नेपाल सरकारबाट आधिकारिक घाइते परिचयपत्र प्राप्त गरेका नागरिकहरूको साझा संस्था ‘घाइते जेन्जी नेपाल’ ले आफ्नो केन्द्रीय कार्यालय स्थापना गर्दै संगठनलाई औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गराएको छ। काठमाडौंको बबरमहलस्थित सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा स्थापना गरिएको कार्यालयको बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहपछि गृह मन्त्री सुधन गुरुङ ले पनि कार्यालयको अवलोकन गर्दै संस्थाका पदाधिकारी तथा घाइतेहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च अधिकारी, शहीद परिवारका प्रतिनिधि, घाइतेहरू तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै घाइते जेन्जी नेपालका महासचिव सञ्जीव कुमार झा (सञ्जीव) ले संस्थाको स्थापना कुनै राजनीतिक उद्देश्यका लागि नभई घाइतेहरूको अधिकार, सम्मान र पुनःस्थापनाको साझा अभियान भएको स्पष्ट पारे।

उनले देशभर रहेका घाइतेहरूको वास्तविक अवस्था अझै पूर्ण रूपमा अभिलेखीकरण हुन नसकेको उल्लेख गर्दै संस्थाले विस्तृत तथ्यांक संकलनको अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था, आर्थिक अवस्था, रोजगारी, पुनःस्थापनाको आवश्यकता तथा राज्यबाट प्राप्त सुविधाको अवस्थाबारे व्यवस्थित विवरण तयार गरी सम्बन्धित निकायसमक्ष प्रस्तुत गरिनेछ।
महासचिव झाले आफूहरू शारीरिक रूपमा अझै पनि विभिन्न पीडाबाट गुज्रिरहेको अवस्थामा समेत समुदायको हकहितका लागि निरन्तर सक्रिय रहेको बताए। उनले घाइतेहरूको आवाज अब व्यक्तिगत नभई संस्थागत रूपमा राज्यका सबै निकायसम्म पुर्याइने विश्वास व्यक्त गरे।
उनले भने, “हामीमध्ये धेरै साथीहरू अझै उपचारको क्रममा हुनुहुन्छ। धेरै परिवार आर्थिक कठिनाइमा छन्। यस्ता समस्या समाधानका लागि संस्थागत रूपमा अघि बढ्नु आवश्यक थियो। यही उद्देश्यले केन्द्रीय कार्यालय स्थापना गरिएको हो।”

उनले गृह मन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालप्रति विशेष धन्यवाद व्यक्त गर्दै कार्यालय स्थापनामा उहाँहरूले देखाएको सहयोग र सकारात्मक भूमिकाको खुलेर प्रशंसा गरे। राज्यका जिम्मेवार नेतृत्वले घाइतेहरूको विषयलाई संवेदनशील रूपमा लिएको कारण संस्थाले नयाँ ऊर्जा प्राप्त गरेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा महासचिव झाले गृह मन्त्रीसँग भएका विभिन्न छलफलहरूको स्मरण गर्दै सरकार घाइतेहरूको समस्या समाधान गर्न सकारात्मक रहेको विश्वास व्यक्त गरे। उनले भने कि गृह मन्त्रालयले घाइतेहरूको विषयलाई प्राथमिकताका साथ हेर्ने प्रतिबद्धता जनाएको छ र आवश्यक परेका बेला मन्त्रालयको ढोका सधैँ खुला रहने आश्वासन दिएको छ।

उनले घाइते समुदायको नाम प्रयोग गरेर व्यक्तिगत वा राजनीतिक स्वार्थ पूरा गर्ने प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। “हाम्रो संघर्ष, हाम्रो पीडा र हाम्रो बलिदान कुनै राजनीतिक व्यापारको विषय बन्नु हुँदैन। घाइतेहरूको नाममा कसैले राजनीति नगरोस्। यो मानवता, न्याय र जिम्मेवारीको विषय हो,” उनले स्पष्ट शब्दमा भने।
कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले ऐतिहासिक आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको योगदानको सम्मान गर्दै उनीहरूको उपचार, पुनःस्थापना, सामाजिक सुरक्षा, रोजगारी, सीप विकास तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्न राज्य गम्भीर रहेको धारणा व्यक्त गरेका थिए।
उद्घाटन गरिएको कार्यालय अब देशभर रहेका घाइतेहरूको साझा सम्पर्क केन्द्रका रूपमा सञ्चालन हुनेछ। यस कार्यालयमार्फत घाइतेहरूको अभिलेख व्यवस्थापन, समस्या पहिचान, कानुनी तथा नीतिगत पैरवी, सम्बन्धित सरकारी निकायसँग समन्वय, स्वास्थ्य तथा पुनःस्थापना सम्बन्धी सहजीकरण, सामाजिक सुरक्षा कार्यक्रमको अनुगमन तथा आवश्यक परामर्श सेवा प्रदान गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ।

संस्थाका पदाधिकारीहरूले आगामी दिनमा सातै प्रदेशमा सम्पर्क संयन्त्र विस्तार गर्ने, जिल्लास्तरसम्म संगठन सुदृढ गर्ने, घाइतेहरूको डिजिटल विवरण तयार गर्ने तथा राज्यसँग नियमित संवादमार्फत दीर्घकालीन नीति निर्माणमा योगदान पुर्याउने योजना पनि सार्वजनिक गरेका छन्।
कार्यक्रमका सहभागीहरूले केन्द्रीय कार्यालय स्थापना केवल एउटा भवन उद्घाटन मात्र नभई ऐतिहासिक आन्दोलनका घाइतेहरूको सम्मान, पहिचान र अधिकार सुनिश्चित गर्ने दीर्घकालीन अभियानको महत्वपूर्ण आधारशिला भएको धारणा व्यक्त गरेका थिए।
घाइते जेन्जी नेपालको केन्द्रीय कार्यालय उद्घाटनसँगै संगठनले अब देशभर रहेका हजारौँ घाइते नागरिकको आवाजलाई एकीकृत गर्दै उनीहरूको हक, अधिकार, उपचार, पुनःस्थापना र सम्मानजनक भविष्यका लागि अझ सशक्त रूपमा काम गर्ने विश्वास व्यक्त गरेको छ।
