जनकपुरधाम, साउन १८।
धर्मनिरपेक्षता खारेजी अभियानले सुनसरीदेखि जनकपुरसम्म हालै भएका हिंसात्मक तथा दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशव्यापी रूपमा शोकसभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ। अभियानले जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएका सनातनी समुदायका दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्ति र अमरत्वको कामना गर्ने उद्देश्यले विभिन्न जिल्ला तथा स्थानीय तहमा शोकसभा सञ्चालन गरिने उल्लेख गरिएको छ।
अभियानका अनुसार शोकसभाहरू पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित तथा श्रद्धाञ्जलीमा केन्द्रित हुनेछन्। कार्यक्रममार्फत दिवंगतहरूको सम्झनामा मौनधारण, श्रद्धाञ्जली अर्पण तथा सामाजिक एकताको सन्देश प्रवाह गरिने जनाइएको छ।
विज्ञप्तिमा पछिल्लो समय विभिन्न स्थानमा देखिएका घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र पारस्परिक विश्वासमा चुनौती सिर्जना गरेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ। अभियानले कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि, हिंसा वा कानुनविपरीतका कार्यबाट टाढा रहँदै शान्तिपूर्ण वातावरण कायम गर्न सबैसँग अपिल गरेको छ।
यसैबीच, अभियानले विभिन्न स्थानमा आयोजना हुने सद्भाव र्याली तथा अन्य कार्यक्रमहरूमा सहभागी हुनुअघि परिस्थितिको गम्भीरता बुझेर विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ। शोकको यस घडीमा सबैले संयम, धैर्य र जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने अभियानको धारणा रहेको छ।
धर्मनिरपेक्षता खारेजी अभियानका संयोजक डा. राजीव झाले शोकसभा कुनै राजनीतिक प्रदर्शन नभई दिवंगतहरूप्रति सम्मान व्यक्त गर्ने मानवीय कार्यक्रम भएको स्पष्ट पारे। उनका अनुसार कार्यक्रमको मूल उद्देश्य हिंसामा ज्यान गुमाएकाहरूको सम्झना गर्नु, परिवारजनप्रति समवेदना प्रकट गर्नु तथा समाजमा शान्ति, सद्भाव र आपसी सम्मानको वातावरण कायम गर्न योगदान पुर्याउनु हो।
उनले सम्पूर्ण सनातनी समुदाय, शुभेच्छुक तथा आम नागरिकलाई शोकसभामा सहभागी भई दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्न आग्रह गर्दै कार्यक्रमका क्रममा कानुनको पूर्ण पालना गर्न, सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि प्रकारका उत्तेजनात्मक अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन्।
अभियानले शोकसभाको मिति, समय र स्थान सम्बन्धी विस्तृत कार्यक्रम सम्बन्धित जिल्ला तथा स्थानीय संयोजन समितिमार्फत सार्वजनिक गरिने पनि जनाएको छ।
