काठमाडौं — संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाएको छ।
मोर्चाले उचित वैकल्पिक व्यवस्थापन नगरी विभिन्न स्थानबाट सुकुम्वासी बस्ती हटाइएको, विस्थापित परिवारलाई सुरक्षित आवासको व्यवस्था नगरिएको तथा उनीहरूको जीवनयापन थप कठिन बनेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले सुकुम्वासीहरूको पुनर्स्थापना, सम्मानजनक आवासको सुनिश्चितता तथा राज्यबाट दीर्घकालीन समाधानको माग गरेका थिए। उनीहरूले सुकुम्वासीको समस्या बल प्रयोगबाट नभई संवाद र योजनाबद्ध व्यवस्थापनमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
मोर्चाका अनुसार शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका परिवार थप समस्यामा परेका छन्। बाढीका कारण अस्थायी बसोबाससमेत प्रभावित भएपछि उनीहरूको दैनिकी झन् कष्टकर बनेको मोर्चाको भनाइ छ।
यस्तै, शनिबार साँझ एक जेन–जी अभियन्तालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति पनि प्रदर्शनकारीहरूले आपत्ति जनाएका छन्। पक्राउ परेका अभियन्ताको तत्काल रिहाइको माग गर्दै उनीहरूले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट नीति, सुरक्षित पुनर्स्थापना र प्रभावित परिवारको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
यस विषयमा सम्बन्धित सरकारी निकायले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन।
