जनकपुरधाम, असार १९। मधेश प्रदेश सरकारले प्रदेशमै क्यान्सर उपचार सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि हालसम्म प्रदेशबाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले आगामी आर्थिक वर्षभित्र प्रदेशमै क्यान्सर अस्पताल स्थापना गरी सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको सरकारले जनाएको छ। प्रदेश सरकारले यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको बताएको छ।
धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा स्वास्थ्य निर्देशनालयद्वारा आयोजित तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा सम्पन्न स्वास्थ्य प्रवर्द्धन तथा सञ्चार–पैरवीसम्बन्धी एकदिने कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले स्वास्थ्य क्षेत्रको सुधार प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।
उनले क्यान्सरजस्ता नसर्ने रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रदेशमै गुणस्तरीय उपचार सेवा विस्तार गर्न सरकारले दीर्घकालीन योजना बनाएको जानकारी दिए। उनका अनुसार उपचारका लागि काठमाडौं वा भारतका विभिन्न अस्पतालमा जानुपर्ने बाध्यताका कारण धेरै बिरामीले समयमै उपचार नपाउने, आर्थिक अभावका कारण उपचार अधुरै छाड्नुपर्ने तथा कतिपयले ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेको छ। यही यथार्थलाई परिवर्तन गर्न प्रदेश सरकारले आफ्नै लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो।
मन्त्री साहले स्वास्थ्य पूर्वाधार विकाससँगै विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण तथा आवश्यक औषधिको उपलब्धतामा समेत सरकारको ध्यान केन्द्रित रहेको बताए। उनले प्रदेशका प्रादेशिक अस्पतालहरूमा पछिल्ला वर्षहरूमा विशेषज्ञ सेवा, आधुनिक उपचार प्रणाली तथा जटिल शल्यक्रियाको दायरा उल्लेखनीय रूपमा विस्तार भएको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर अझ सुदृढ बनाइने बताए।
उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। बजेट विनियोजन मात्र नभई योजनाको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाहमा पारदर्शिता तथा उपलब्ध स्रोत–साधनको अधिकतम उपयोगमा प्रदेश सरकार केन्द्रित रहने उनले स्पष्ट पारे।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले संघीय शासन व्यवस्था कार्यान्वयनपछि मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको बताए। उनले विगत केही वर्षयता स्वास्थ्य पूर्वाधार, सेवा विस्तार तथा जनशक्तिको व्यवस्थापनमा भएको प्रगतिले प्रदेशको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाएको धारणा व्यक्त गरे।
उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा २५ वटा डायलाइसिस मेसिनमार्फत नियमित रूपमा मिर्गौला रोगीलाई सेवा प्रदान भइरहेको छ। साथै लहान, जलेश्वर र कलैयामा समेत डायलाइसिस सेवा विस्तार गरिएकाले प्रदेशका हजारौं बिरामी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
सचिव यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना भएपछि गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा सहज बनेको बताए। त्यस्तै जनकपुरधाममा अत्याधुनिक कोल्ड चेन प्रणाली स्थापना गरी ठूलो परिमाणमा खोप सुरक्षित रूपमा भण्डारण गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए। सोही व्यवस्थापनका कारण प्रदेशले लगातार दुई वर्षदेखि पूर्ण खोपयुक्त प्रदेशको अवस्थालाई कायम राख्न सफल भएको उनले बताए।
उनले नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रदेश सरकारले संविधान, राष्ट्रिय स्वास्थ्य नीति तथा प्रचलित कानुनी व्यवस्थाअनुसार सबै नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा निरन्तर काम गरिरहेको बताए।
कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य निर्देशक सरोजचन्द्र न्यौपानेले जनस्वास्थ्य सुधारमा सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले स्वास्थ्यसम्बन्धी सही, तथ्यपरक तथा वैज्ञानिक जानकारी आमनागरिकसम्म पुर्याउन सञ्चारकर्मीको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै गलत सूचना र भ्रमको अन्त्य गर्न जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए।
कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, कुपोषण, सरुवा तथा नसर्ने रोगको बढ्दो जोखिम, मानसिक स्वास्थ्य, स्वास्थ्य सेवामा पहुँचको असमानता, ग्रामीण क्षेत्रमा दक्ष जनशक्तिको अभाव, स्वास्थ्य संस्थाको पूर्वाधार विकास तथा जनचेतना अभिवृद्धिजस्ता विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधानका लागि सरकार, स्वास्थ्यकर्मी, सञ्चार माध्यम तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्वास्थ्य प्रवर्द्धनका रणनीति, जनस्वास्थ्यका प्राथमिक चुनौती, सञ्चारमार्फत प्रभावकारी पैरवी गर्ने उपाय, स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषणका मापदण्ड तथा जिम्मेवार पत्रकारिताबारे कार्यपत्र प्रस्तुति र अन्तरक्रिया समेत गरिएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य क्षेत्रका उपलब्धि, चुनौती तथा सेवासम्बन्धी तथ्यपरक सूचना आमनागरिकसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका अझ सशक्त र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको निष्कर्षमा स्वास्थ्यसम्बन्धी नीति, कार्यक्रम तथा उपलब्धिलाई प्रभावकारी रूपमा जनतासम्म पुर्याउन सरकारी निकाय र सञ्चार क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै जनस्वास्थ्यका विषयमा सचेतना अभिवृद्धि, गलत सूचना नियन्त्रण तथा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाप्रति विश्वस्त बनाउन सञ्चार माध्यमले निरन्तर र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरू एकमत देखिएका थिए।
प्रदेश सरकारले आगामी दिनमा क्यान्सर अस्पताल स्थापना, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, आधुनिक स्वास्थ्य पूर्वाधार निर्माण तथा सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोराएको छ। क्यान्सर अस्पताल सञ्चालनको तयारीलाई मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसबाट भविष्यमा हजारौं बिरामीले आफ्नै प्रदेशमा उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
