काठमाडौं, वैशाख २२ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सातबुँदे सहमति कार्यान्वयनमा सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार सहमति अनुसारका मुख्य विषयहरूमा चुप लागेर बसेको आरोप लगाए।
कोइरालाका अनुसार संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्य, र सुशासनजस्ता प्रमुख एजेन्डामा सरकारले ठोस कदम चाल्न सकेको छैन। उनले सहमतिका बुँदाहरू कार्यान्वयन नगरेर सरकार आफैंले जनताको विश्वास गुमाइरहेको बताए।
संविधान संशोधनबारे बोल्दै डा. कोइरालाले यो विषय दुई दलको बहुमतले मात्र होइन, संसदमा रहेका सबै राजनीतिक दलहरू तथा सरोकारवालाको राय लिएर निर्णय गर्नुपर्ने धारणा राखे। संविधान पुनरावलोकनजस्तो संवेदनशील विषयमा व्यापक संवाद आवश्यक रहेको उनको भनाइ छ।
उनले नेपाली कांग्रेसभित्र गम्भीर विवाद वा अन्तरद्वन्द्व नरहेको स्पष्ट पार्दै वर्तमान सरकार ढाल्ने प्रयासमा आफू रहेको आरोप असत्य भएको दाबी गरे। “सरकार असफल होस् भन्ने हाम्रो चाहना होइन, सरकारलाई सफल बनाउने जिम्मेवारी सबैको हो,” कोइरालाले भने।
त्यस्तै, एमाले र कांग्रेसबीच बनाइएको संयन्त्रप्रति आफूले शंका उठाएको भए पनि संयन्त्र आवश्यक नै नभएको होइन भन्ने स्पष्टीकरण उनले दिए। उनले सरकारभित्रैबाट प्रभावकारी संयन्त्र निर्माण गरेर आवश्यक समन्वय गर्न सुझाव दिएका छन्।
डा. कोइरालाको टिप्पणीले सरकार सञ्चालन र सहमति कार्यान्वयनको प्रभावकारितामाथि पुनः बहस सुरु गराएको छ।
