
पेरिस । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ। प्रदर्शनपछि पक्राउ पर्नेको प्रारम्भिक विवरण सार्वजनिक गर्दै गृहमन्त्री लोरेन्ट नुनेजले संख्या थप बढ्न सक्ने बताएका छन्।
गृहमन्त्री नुनेजका अनुसार प्रदर्शनका क्रममा विभिन्न स्थानमा हुन सक्ने लुटपाटका घटनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ परेका व्यक्तिको अन्तिम विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिएका छन्।
फ्रान्सका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको खबर सार्वजनिक भए पनि अघिल्लो साताको तुलनामा यसपटक हिंसात्मक गतिविधि कम भएको बताइएको छ।
यसअघि भएको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भवन तोडफोड र आगजनीका घटना भएका थिए। साथै, करिब १ हजार ५०० पसलमा लुटपाट भएको विवरण सार्वजनिक भएको थियो। गृहमन्त्री नुनेजले गत साताको प्रदर्शनका क्रममा दुई हजार ७०० भन्दा बढी व्यक्ति पक्राउ परेको जानकारी दिएका थिए।
पछिल्लो प्रदर्शनमा सम्भावित हिंसा र लुटपाट रोक्न सुरक्षा निकाय परिचालन गरिएको थियो। घटनाको विस्तृत विवरण भने प्रहरीले संकलन गरिरहेको छ।