
जनकपुरधाम । धनुषामा एकै परिवारका श्रीमान्–श्रीमती मृत फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्। ससुरालीमा भएको धारिलो हतियार प्रहारको घटनापछि श्रीमान् पनि मृत भेटिएपछि प्रहरीले घटनाको विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुराली पुगेका थिए। राति करिब १ः५० बजे उनले श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट्माथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी घटनास्थल पुग्दा ३० वर्षीया रिना घाँटीमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन्।
आक्रमणबाट घाइते भएका बालकको दाहिने तिघ्रामा चोट लागेको थियो। उनलाई स्थानीय क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलको जाँच गर्ने क्रममा प्रहरीले रगत लागेको चक्कु बरामद गरेको छ। घटनापछि उमेश त्यहाँबाट निस्किएका थिए। उनको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा पर्ने सिर्सिया जाने बाटोको दक्षिणतर्फ आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाको पृष्ठभूमि, कारण र अन्य परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनामा घाइते बालकको उपचार भइरहेको छ भने प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।