एकको अवस्था गम्भीर
सर्लाही, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शनिबार भएको दुर्घटनामा सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी र वडा नम्बर ९ का ४८ वर्षीय राजेन्द्र रामसहित सुवर्ण गाउँपालिका, कलैया उपमहानगरपालिका, पचरौता नगरपालिका तथा सिम्रौनगढ नगरपालिकाका गरी १२ जना घाइते भएका छन्।
घाइतेमध्ये सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि कलैयास्थित एलएस न्युरो अस्पताल पठाइएको छ। अन्य घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकी फूलजोरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।