
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धबारे दिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर राप्रपाका पूर्वअध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत वाग्लेको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै भारतविरोधी राष्ट्रवादको युग सकिएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गरेको आरोप लगाएका हुन्।उनले वाग्लेको भनाइबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
वाग्लेले दिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै थापाले त्यसले नेपालको राष्ट्रियता र स्वाभिमानलाई कमजोर रूपमा प्रस्तुत गरेको आरोप लगाएका हुन्।
वाग्लेको भनाइ के हो?
भारतविरोधी भावनालाई राष्ट्रवादसँग जोड्ने समय सकियो
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने पुरानो राजनीतिक प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन्। शुक्रबार नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपाल र भारतबीच भौगोलिक निकटतासँगै गहिरो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गरे।
वाग्लेले दुई देशबीच बेलाबेला समस्या उत्पन्न भए पनि आपसी सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। व्यापार, ऊर्जा, पर्यटन तथा आर्थिक सहकार्य विस्तार गरेर दुवै देशले साझा लाभ लिन सक्ने उनको भनाइ थियो। उनले नेपालले भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चाहेको पनि बताएका थिए
थापाको आपत्ति केमा छ?
थापाका अनुसार नेपालको राष्ट्रवाद कुनै देशको विरोधमा आधारित छैन। भारतसँग सीमा विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको रक्षा गर्नु हो।
उनले वाग्लेको अभिव्यक्तिले राष्ट्रिय सरोकारका मुद्दालाई संकुचित रूपमा व्याख्या गरेको आरोप लगाउँदै उक्त भनाइ सरकारकै आधिकारिक धारणा हो कि होइन भन्ने स्पष्ट पार्न माग गरेका छन्।