काठमाडौँ, ६ कात्तिक। जलवायुजन्य विपद्का समयमा पनि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न रौतहटमा विकसित जलवायु–उत्थानशील स्वास्थ्य सेवा नमुना सफल देखिएको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहयोगमा ईशनाथ नगरपालिका–स्थित औरैया प्रसूति केन्द्रमा लागू गरिएको यस नमुनालाई अन्य जोखिमयुक्त क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद कार्यक्रममा नमुनाको मूल्याङ्कन गर्दै जलवायु जोखिमको सामना गर्न सक्ने स्वास्थ्य पूर्वाधार निर्माण, सेवा निरन्तरता र सरकारी स्वामित्व सुदृढ गर्न स्पष्ट लक्ष्य तथा कार्यदिशा आवश्यक रहेको औँल्याइएको थियो।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक लीला पिटर्स याहियाले स्वास्थ्य संस्थामा गरिने सानो लगानीले पनि मातृ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताइन्। योग्य नर्सको उपलब्धताले स्थानीय समुदायको विश्वास बढाउनुका साथै ग्रामीण महिलालाई गर्भावस्था र सुत्केरीपछिको स्वास्थ्य सेवा लिन प्रोत्साहित गरेको उनको भनाइ थियो।
ग्रामीण स्वास्थ्य संस्था, दक्ष स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारमा लगानी गर्नु जीवन बचाउने महत्त्वपूर्ण उपाय भएको उल्लेख गर्दै उनले मातृ तथा प्राथमिक स्वास्थ्य सेवाका लागि आन्तरिक स्रोत परिचालन गर्नुपर्नेमा जोड दिइन्।
जापान सरकारको आर्थिक सहयोगमा सन् २०२५ देखि सञ्चालन भइरहेको ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार’ परियोजनाअन्तर्गत औरैया प्रसूति केन्द्रलाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गरिएको हो। युएनएफपिएले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको परियोजनामार्फत केन्द्रमा विद्युत् वैकल्पिक व्यवस्था, चिकित्सकीय फोहोर व्यवस्थापन, हावाको आवागमन सहज बनाउने प्रणाली तथा पानी शुद्धीकरणलगायतका सुधार गरिएका छन्।
भौतिक पूर्वाधार सुधारसँगै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि मार्गदर्शन तयार गर्ने र जलवायु अनुकूलित स्वास्थ्य कार्ययोजना विकास गर्ने कामसमेत अघि बढाइएको छ। यसबाट स्थानीय तहको जिम्मेवारी र स्वामित्व बढाउँदै स्वास्थ्य सेवाको दीर्घकालीन निरन्तरता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
नेपालस्थित युएनएफपिएका उपप्रतिनिधि डा. वशिर नजिबले गत भदौमा आएको बाढीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सेवामा विपद्ले पार्न सक्ने असर स्पष्ट पारेको बताए। उनका अनुसार विपद्का बेला पनि सेवा अवरुद्ध नहुने स्वास्थ्य केन्द्र निर्माण गर्न स्थानीय योजना, सुदृढ पूर्वाधार र पूर्वतयारी आवश्यक छन्।
जापान सरकारको सहयोगमा सञ्चालित परियोजनामार्फत प्रमाणित अनुकूलनका नमुनालाई दिगो बनाउँदै देशभर विस्तार गर्न सबै तहका सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता पनि युएनएफपिएले जनाएको छ।
ईशनाथ नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले प्रतिकूल परिस्थितिमा समेत गर्भवती महिला र नवजात शिशुलाई निर्बाध स्वास्थ्य सेवा उपलब्ध गराउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउँदै स्थानीय समुदायलाई सेवा अत्यावश्यक भएका बेला स्वास्थ्य संस्था सञ्चालनमा राख्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।
कार्यक्रमका अवसरमा युएनएफपिएले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न मधेस प्रदेश सरकारलाई करिब एक लाख अमेरिकी डलर बराबरका जीवनरक्षक औषधि तथा अत्यावश्यक उपकरण हस्तान्तरण गरेको थियो। जापान सरकारको आर्थिक सहयोगमा खरिद गरिएका ती सामग्री रौतहटका पाँचवटा स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु स्याहार सेवा सुदृढ गर्न वितरण गरिने जनाइएको छ।
युएनएफपिएका अनुसार परियोजनाले जलवायु जोखिममा रहेका जाजरकोट र रौतहट जिल्लामा स्वास्थ्य सेवाको अनुकूलन क्षमता बढाउने तथा जोखिम न्यूनीकरणसम्बन्धी काम गरिरहेको छ। यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएफपिएले नेपालमा आर्थिक, प्राविधिक तथा विशेषज्ञ सहयोग उपलब्ध गराउँदै आएको छ।