आरोपित जंगलबाट पक्राउ
सुर्खेत, २७ असोज। मुगुको छायाँनाथ रारा नगरपालिकामा धारिलो हतियार खुँडा प्रहारबाट एक वृद्धको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३२ वर्षीय अजवीर कामीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका अजवीरले सोही ठाउँका ७५ वर्षीय धनवीर कामीमाथि खुँडा प्रहार गरेका थिए। सोमबार बिहान भएको घटनामा गम्भीर घाइते भएका धनवीरलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार भएका अजवीरको खोजीका लागि प्रहरीले ३५ जनाको टोली परिचालन गरेको थियो। खोजीका क्रममा उनलाई छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी खुँडासहित भागिरहेको अवस्थामा फेला परेका थिए।
प्रारम्भिक जानकारीअनुसार मृतक र आरोपितबीच यसअघि कुनै झैझगडा वा व्यक्तिगत रिसइबी नरहेको छिमेकी तथा आफन्तले बताएका छन्।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।