वीरगञ्ज, २६ असोज । वीरगञ्जस्थित मितेरी पुलबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार आइतबार भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवक र नेपालबाट भारततर्फ जाँदै गरेका अर्का पुरुषलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको डग स्क्वाड र बोर्डर इन्टरएक्सन टिम (बीआईटी) को संयुक्त टोलीले जाँचका क्रममा बाराको विश्रामपुर गाउँपालिका–५ नर्कुटवाका १८ वर्षीय शेख सहजातको साथबाट ४ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो। उक्त पदार्थ कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, बारागढी गाउँपालिका–३ निवासी ४१ वर्षीय जमिल अख्तर मियाँको झोलाबाट ४ किलो ८५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उनी पैदलमार्ग हुँदै नेपालबाट भारततर्फ जाँदै थिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी डीएसपी सुरज क्षेत्रीले बताएका छन्।