६७ करोड ५० लाख बजेट छुट्याइयो
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना अघि बढाएको छ। यसका लागि ६७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
किसानले उत्पादन गरेको धानको उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले सरकारले खरिद प्रक्रिया अघि बढाएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान खरिद व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार धान खरिद प्रक्रिया सुरु भइसकेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, मोटा तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद हुँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ। यसले बजारमा धानको मूल्यमा हुने उतारचढाव र बिक्रीसम्बन्धी अनिश्चितता घटाउन पनि सहयोग पुग्ने मन्त्रालय पक्षको भनाइ छ।
सरकारी खरिद कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा किसानलाई उत्पादन बिक्री गर्न सहज हुनुका साथै कृषि क्षेत्रको आय स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
