
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको हृदयाघातका कारण निधन भएको छ। हृदयसम्बन्धी समस्याबाट पीडित उनलाई स्वास्थ्यमा समस्या देखिएपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
नेकपा संयुक्तका प्रचार विभाग प्रमुख दामोदर अर्यालले पनि पौडेलको निधन भएको पुष्टि गरेका छन्।
राजनीतिमा लामो समय सक्रिय रहेका पौडेलले सुरुमा नेकपा एमालेमा रहेर काम गरेका थिए। एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी एकीकृत समाजवादीमा आबद्ध भएका थिए। त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय बनेका थिए।
पौडेल जनता टेलिभिजनका सञ्चालकसमेत थिए। उनी पूर्वसांसद, पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रितका छोरा हुन्।