काठमाडौं, १९ असोज । सरकारले चाडपर्वलाई लक्षित गर्दै देशका ४२ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले वर्तमान सरकारको पहिलो ६ महिनाका उपलब्धि सार्वजनिक गर्दै सुपथ मूल्य पसल सञ्चालनको जानकारी दिएको हो। उपलब्धि विवरणमा आर्थिक सुधार, व्यापार, आपूर्ति तथा लगानी क्षेत्रमा भएका कामहरू समेटिएका छन्।
सरकारका अनुसार लगानी बोर्डमार्फत एकद्वार स्वीकृति प्रणाली कार्यान्वयनमा ल्याइएको छ। खानीको खोज तथा उत्खननका लागि १०६ वटा नयाँ अनुमति जारी गरिएको पनि उपलब्धि विवरणमा उल्लेख छ।
करदाता सेवा विस्तार गर्ने क्रममा १२० स्थानीय तह तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्थायी लेखा नम्बर (प्यान) सहितका सेवा उपलब्ध गराउन थालिएको सरकारले जनाएको छ।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम आयातमा लाग्ने भन्सार महसुल र पूर्वाधार शुल्कमा ५० प्रतिशत छुट दिइएको विवरणमा उल्लेख छ।
आर्थिक सुधार र वित्तीय सुशासनतर्फ नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसका आधारमा १५ वटा पुराना कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको पनि सरकारले जनाएको छ।
सार्वजनिक संस्थान सुधारअन्तर्गत उदयपुर सिमेन्ट, गोरखकाली रबर र हेटौंडा सिमेन्टलगायत समस्याग्रस्त संस्थानको ड्यु डिलिजेन्स अडिट पूरा भएको जनाइएको छ।
पूँजी बजार सुधारका लागि २१ बुँदे पूँजी बजार सुधार कार्ययोजना २०८३ कार्यान्वयनमा ल्याइएको छ।
यसैगरी, एटीएफ ग्रे–लिस्टसम्बन्धी सुधारमा तीनवटा कार्य पूर्ण र चारवटा कार्यमा आंशिक प्रगति भएको सरकारले जनाएको छ। ग्रे–लिस्टबाट छिट्टै बाहिरिने उद्देश्यसहित थप रणनीति कार्यान्वयन भइरहेको उपलब्धि विवरणमा उल्लेख छ।