जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा विपद्सँग सम्बन्धित ४५९ वटा घटना भएका छन्। साउन र भदौमा भएका ती घटनामा ९२ जनाले ज्यान गुमाएका छन् भने ५१० परिवार प्रभावित भएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन्। विपद्का कारण मानवीय क्षतिसँगै घर, पशुचौपाया र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै मानवीय क्षति करेन्ट लागेका घटनाबाट भएको छ। दुई महिनामा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।
त्यस्तै, पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। जंगली जनावरको आक्रमणबाट पाँच जना, चट्याङबाट तीन जना र आगलागीका कारण एक जनाले ज्यान गुमाएका छन्। अन्य विभिन्न प्रकृतिका विपद्मा १३ जनाको मृत्यु भएको प्रहरीको विवरण छ।
आगलागी र करेन्टका घटना धेरै
साउन र भदौमा आगलागीका ११२ वटा घटना दर्ता भएका छन्। यस्तै, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जंगली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन्।
वर्षायाममा मधेसका विभिन्न क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ। नदी तथा खोलामा पानीको सतह बढ्दा बस्तीमा पानी पस्ने तथा पोखरी, जलाशय र अन्य पानी जम्ने स्थानमा डुब्ने जोखिमसमेत बढ्ने गरेको छ।
वरिष्ठ प्रहरी उपरीक्षक ढकालले विशेषगरी आगलागी र विद्युत्सँग सम्बन्धित दुर्घटनाबाट हुने क्षति घटाउन सावधानी र जनचेतना आवश्यक रहेको बताए।
करिब पौने तीन करोडको भौतिक क्षति
प्रहरीको विवरणअनुसार दुई महिनामा भएका विपद्का घटनाबाट कुल रु. २ करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको छ।
यसमा आगलागीबाट मात्रै रु. २ करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको छ। आगलागीका कारण २१२ परिवारका घर प्रभावित भएको प्रहरीले जनाएको छ।
बाढी तथा पहिरोबाट रु. ११ लाख ९० हजार, चट्याङबाट रु. ३ लाख र जंगली जनावरको आक्रमणबाट रु. २ लाख ७२ हजार बराबरको क्षति भएको छ। अन्य विपद्का घटनाबाट थप रु. ४ लाख ६३ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक छ।
५१० परिवार प्रभावित
विपद्का घटनाबाट प्रदेशका विभिन्न जिल्लामा गरी ५१० परिवार प्रभावित भएका छन्। बाढी, डुबान तथा अन्य घटनाका कारण केही परिवार विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ।
वर्षायाममा नदी तथा खोलाको पानी बस्तीमा पस्दा जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको प्रहरी कार्यालयले जनाएको छ।
प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनमा स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय हुँदै आएको प्रहरीको भनाइ छ।
उद्धारमा करिब २९ सय प्रहरी परिचालन
विपद् व्यवस्थापन, उद्धार तथा राहतसम्बन्धी कार्यमा दुई महिनाको अवधिमा २ हजार ८६९ प्रहरी परिचालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी टोलीले बाढी, डुबानलगायत जोखिमपूर्ण अवस्थामा खोज तथा उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा लैजाने र राहत व्यवस्थापनमा सहयोग गर्दै आएको छ।
मधेस प्रदेशका आठवटै जिल्लामा सम्भावित विपद्लाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।