काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति र विचारलाई सहज रूपमा व्यक्त गर्न सकिने वातावरण लोकतन्त्रको आधारभूत आवश्यकता भएको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले राजनीतिक दल र संसद्भित्र पर्याप्त संवादको वातावरण बन्न नसकेको अवस्थामा समाजमा खुला बहसका लागि थप सार्वजनिक थलो आवश्यक रहेको धारणा राखे।
दश वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना भएको उल्लेख गर्दै उनले खुलामञ्चलाई काठमाडौंको एउटा सार्वजनिक चौरका रूपमा मात्रै बुझ्न नहुने बताए। नेपाली राजनीतिक इतिहासमा यस स्थलले विभिन्न आन्दोलन र राजनीतिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
थापाले विगतमा विभिन्न राजनीतिक दल र नेताहरूले खुलामञ्चलाई आफ्ना विचार सार्वजनिक गर्ने थलोका रूपमा प्रयोग गरेको स्मरण गरे। उनका अनुसार फरक विचार र असहमतिलाई एउटै स्थानमा ल्याएर संवादको वातावरण बनाउन खुलामञ्चको आफ्नै महत्व छ।
अब राजधानीमा मात्रै नभई देशका विभिन्न भागमा नागरिकले स्वतन्त्र रूपमा आफ्ना धारणा राख्न सक्ने सार्वजनिक तथा डिजिटल संवादका थलो विकास गर्नुपर्ने थापाले बताए।
उनले त्यसको सुरुवात राज्यका प्रमुख संरचनाबाटै हुनुपर्ने धारणा राखे। संसद् जनताको प्रश्न र आवाज प्रस्तुत गर्ने प्रमुख संस्था भएकाले त्यहाँ नागरिकका सवालप्रति पर्याप्त जवाफदेहिता हुनुपर्ने उनको भनाइ थियो।
सत्तामा रहेका नेतृत्वले नागरिकका प्रश्न सुन्ने र जनतासँग प्रत्यक्ष संवाद गर्ने संस्कार विकास गर्नुपर्नेमा थापाले जोड दिए। लोकतन्त्रमा नागरिकको आवाजलाई सीमित पार्नेभन्दा उनीहरूलाई प्रश्न गर्ने र आफ्ना असहमति राख्ने अवसर दिनुपर्ने उनले बताए।
थापाले राजनीतिक दलभित्र पनि आलोचना र फरक मतका लागि पर्याप्त स्थान हुनुपर्ने बताए। नेतृत्वसँग प्रश्न वा असहमति राखेकै कारण पार्टी सदस्यता गुमाउने अवस्था अन्त्य गर्नुपर्ने उनको धारणा थियो।
उनका अनुसार लोकतन्त्रको अभ्यास राज्य र संसद्मा मात्र सीमित हुनु हुँदैन। राजनीतिक दलको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्वप्रतिको व्यवहारमा समेत लोकतान्त्रिक संस्कार देखिन आवश्यक छ।
दश वर्षपछि खुलामञ्चमा महाधिवेशन आयोजना हुनु आफैंमा खुला संवाद र नागरिकसँगको सम्बन्धलाई पुनः जोड्ने अवसर भएको थापाले बताए। उनले खुलामञ्चलाई राजनीतिक सभा गर्ने स्थलभन्दा माथि उठाएर प्रश्न, विचार, असहमति र संवादका लागि साझा सार्वजनिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
