
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देशमा अपेक्षित परिवर्तन ल्याउने स्पष्ट संकेत देखिन नसकेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले नेतृत्वको पुस्ता फेरिए पनि देश निर्माणको सवालमा पर्याप्त आशा जगाउन नसकेको धारणा राखे।
उनले विगतमा कपाल फुलेका नेताहरूलाई देश बिगारेको आरोप लाग्ने गरेको स्मरण गर्दै अहिले नयाँ पुस्ताका नेताहरूले पनि जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने बताए।
चौधरीले कांग्रेस नेता गगन थापालाई सम्बोधन गर्दै आफूले उनीप्रति विश्वास राखेको उल्लेख गरे। उमेर र अनुभव दुवै हासिल गर्दै गएको थापा नेतृत्वको पुस्ताले देश निर्माणमा सकारात्मक भूमिका खेल्ने आफ्नो अपेक्षा रहेको उनको भनाइ थियो।
उनले अबको नेतृत्वले विगतका कमजोरीबाट पाठ सिक्दै देश र जनताको हितमा परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।