रौतहटमा एक २८ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।
जिल्लाको गरुडा नगरपालिका–९, गमरिया टोल निवासी गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजेतिर आफूले प्रयोग गरिरहेको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
गम्भीर अवस्थामा रहेका सहनीलाई स्थानीयवासी तथा परिवारको सहयोगमा तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ।
प्रहरीका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। घटनाको कारण भने हालसम्म खुलेको छैन।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। सहनीले यस्तो कदम चाल्नुको वास्तविक कारण पत्ता लगाउन परिवारका सदस्य तथा सम्बन्धित व्यक्तिसँग सोधपुछ भइरहेको बताइएको छ।
