काठमाडौं, असार २६ — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। गम्भीर रूपमा घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारकै क्रममा नेपालीको निधन भएको पुष्टि गरेका छन्। यद्यपि समाचार तयार पार्दासम्म वीर अस्पताल प्रशासनले भने औपचारिक रूपमा मृत्युबारे सार्वजनिक जानकारी जारी गरेको थिएन।
मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि त्यहाँ उपस्थित सर्वसाधारण र सुरक्षाकर्मीले तत्काल आगो निभाएर उनलाई उद्धार गरेका थिए। त्यसपछि उनलाई तत्काल वीर अस्पताल पुर्याई आकस्मिक उपचार सुरु गरिएको थियो।
चिकित्सकहरूका अनुसार आगलागीका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। विशेषगरी अनुहार, टाउको, घाँटी तथा शरीरका अन्य महत्वपूर्ण अंगमा गम्भीर जलन भएकाले उनको अवस्था अत्यन्त जटिल बनेको थियो। अस्पताल पुर्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।
उपचारका लागि वीर अस्पतालले २१ सदस्यीय विशेष चिकित्सक टोली परिचालन गरेको थियो। टोलीमा प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए। चिकित्सकहरूले उनको जीवन बचाउन निरन्तर प्रयास गरे पनि गम्भीर जलनका कारण अन्ततः उनलाई बचाउन नसकिएको स्रोतले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान जारी छ। उनले आत्मदाहको प्रयास किन गरे भन्ने विषयमा प्रहरीले पारिवारिक अवस्था, व्यक्तिगत पृष्ठभूमि तथा घटनाअघि भएका गतिविधिबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
यस घटनाले मानसिक स्वास्थ्य, व्यक्तिगत संकट तथा सार्वजनिक स्थानमा हुने यस्ता गम्भीर घटनाप्रति राज्यको तयारी र सचेतनाबारे पुनः बहस सुरु गराएको छ। घटनाको विस्तृत कारण र अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
गणेश नेपालीको आत्मदाह प्रकरणबारे प्रधानमन्त्री बालेन्द्र साहलाई नैतिक जिम्मेवारी लिनुपर्ने चौलागाईको माग

काठमाडौं — २०८२ भदौ २३/२४ को आन्दोलनबाट प्रभावित जेन्जी शहीद परिवार कल्याणकारी समाज तथा घाइते जेन्जी नेपाल संयुक्त संघर्ष समितिका अध्यक्ष गणेशप्रसाद चौलागाईले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
चौलागाईले तीन वर्षअघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनापछि तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले त्यस घटनालाई “राज्यको असफलताको परिणाम” भन्दै सार्वजनिक धारणा व्यक्त गरेको स्मरण गराएका छन्।
उनका अनुसार, यदि त्यतिबेला राज्यको असफलताका कारण प्रेम आचार्यले आत्मदाह गर्नुपरेको निष्कर्ष निकालिएको थियो भने, अहिले प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह नेतृत्वको सरकारको कार्यकालमै गणेश नेपालीले आत्मदाहको प्रयास गर्नुपरेको घटनाबारे पनि त्यही मापदण्ड लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ।
चौलागाईले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने सामाजिक, आर्थिक र प्रशासनिक कारणहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। उनले सरकार नागरिकको पीडा सम्बोधन गर्न, सेवा प्रवाह प्रभावकारी बनाउन र निराशाको अवस्थाबाट नागरिकलाई जोगाउन थप जिम्मेवार हुनुपर्ने बताएका छन्।
साथै, उनले गणेश नेपालीको मृत्युको वास्तविक कारण, घटनापूर्वको अवस्था तथा आत्मदाहको प्रयाससम्म पुग्न बाध्य पार्ने परिस्थितिबारे निष्पक्ष अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
